काठमाडौं- नेपाल विद्युत प्राधिकरणले ४७ अर्ब ४१ करोडको सञ्चित नाफा कमाएको छ । प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले तीन वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।
आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको घिसिङले बताए । उनले तीनवर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको बताए ।
‘आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता भने ती दिन फर्केर हेर्नुपरेको छैन । आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउंदै प्राधिरणले सुरु गरेकोमा गत आवमा १३ अर्ब नाफा कमाएको थियो ।’ उनले बताए ।