मनसुन सक्रिय हुँदै, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२०८१ भाद्र ५ गते प्रकाशित

काठमाडौं– मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट केही उत्तर दिशातर्फ सरेको छ । यसको प्रभावले नेपालमा अन्य दिनको तुलनामा मनसुन सक्रिय भएको छ ।

भदौ ५ गते बुधबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरुमा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा बढी पानी पर्दछ । मंगलबार रातिदेखि नै पूर्वदेखि पश्चिमसम्म पानी परिरहेको छ ।