रासायनिक मल खरिद प्रक्रिया छोट्याउन ऐन संशोधनको तयारीमा

२०८१ भाद्र १७ गते प्रकाशित

काठमाडौं– सरकारले रासायनिक मल खरिद प्रक्रियालाइ छोट्याउन खरिद ऐन संशोधन गर्ने तयारी गरेको छ । किसानले खेतीबाली लगाउने बेला मल नपाउने समस्याका कारण सरकारले मल खरिद प्रक्रियालाइ छोट्याएर छिटोछरितो मल खरिद गर्ने योजना बनाएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, रासायनिक मलको टेन्डर भए देखि किसानको हातसम्म पुग्न २१३ दिन लाग्छ । त्यसलाई छोट्याएर १५९ दिनभित्र मलको बोलपत्र, एलसी खोल्ने र आपूर्ति गरिसक्ने गरी ऐन संशोधन गर्न लागेको हो ।

कृषिमन्त्री रामनाथ अधिकारीले पनि रासायनिक मलको खरिद प्रक्रिया छोट्याउन ऐन संशोधन गर्ने तयारी गरिरहेको बताए । उनका अनुसार, रासायनिक मल आपूर्ति व्यवस्थासम्वन्धी सार्वजनिक खरिद ऐन २०६३ को दफा १४ उपदफा ४, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७८ र सार्वजनिक खरिद ऐन २०६३ दफा २७ नियमावली नियम ८१ को मौजुदा व्यवस्थालाई संशोधन गर्न लागिएको हो ।

जसअनुसार, रासायनिक मल खरिद गर्न ४५ दिनको सुचना र पुनः सुचना गर्न २१ दिनको समयावधि विद्यमान छ । त्यसलाई छोट्याएर १५ दिनभित्र सुचना र पुनः सुचनाका लागि ७ दिनको समयावधि संशोधन गर्न लागिएको छ ।

त्यस्तै, ७ दिनभित्र प्राविधिक मुल्यांकन, आर्थिक प्रस्ताव खोल्ने १५ दिनलाई छोट्याएर ३÷३ दिनमा गर्न सकिने गरी ऐन संशोधन गरिँदैछ । आर्थिक प्रस्तावमा छनोट भएकालाई वार्तामा बोलाउने १५ दिनको समयावधिलाई संशोधन गरि १० दिनमा गरिने प्रस्ताव छ ।

बोलपत्र, प्राविधिक मुल्यांक र आर्थिक प्रस्ताव छनोट प्रक्रिया पूरा गर्न हाल ८५ दिन लाग्थ्यो । ऐन संशोधन भएमा ३१ दिनमै सबै खरिद प्रक्रिया सम्पन्न गर्न सकिनेछ । खरिद प्रतितपत्र(एलसी) खोल्न २१ दिन र खरिद मल बुझाउन १०७ दिनको समयावधिमा भने संशोधन गरिएको छैन् ।

यस्तो छ, मल खरिद प्रक्रिया संशोधन हुने व्यवस्था