नक्कली घ्यू बिक्रि गर्ने उद्योगमा सिल

२०८१ भाद्र २६ गते प्रकाशित

काठमाडौं- नक्कली घ्यू बिक्रि वितरण गर्ने एक उद्योगलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादन रोक्का गरेको छ । ललितपुरको गोदावरी नगरपालिका ११, नबुचा स्थित प्रशंसा कलेक्शन एण्ड रिफाईन नामको खाद्य उद्योग अनुगमन निरीक्षण गर्ने क्रममा वनस्पति घ्युलाई खियालागेको ड्रममा तताएर राधेकृष्ण ब्राण्डमा जुजुघ्यू र अर्चना ब्राण्डमा शुद्ध घ्यूको नाममा १ लिटर, १/२ लि., १५० ग्रामको डब्बामा प्याक गरेर नक्कली घ्यू विक्री वितरण गर्ने गरेको पाईएको थियो ।

विभागका अनुसार, उत्पादन स्थल फोहोर रहेको तथा घ्यू, वनस्पति घ्यू प्रसोधनरउत्पादन र प्याकिंग गर्नको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमतिपत्र समेत लिएको नदेखिएकाले स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रशोधन कक्षमा राखी शिलबन्दी गरी उत्पादन रोक्का गरिएको हो ।

यसैगरी विभागको अनुगमन टोलीले सम्येक बेकरी सटिङ्ग घ्यू प्याकेजिग उद्योग वडा नं २७ ललितपुर ,विन्दवासिनी आयल इन्ड्सट्रिज प्रालि, सुनाकोठी–१, ललितपुर, नन्दबाबा डेरी उद्योग, महालक्ष्मी नगरपालिका ०१, ललितपुर र राज फुड प्रोडक्ट्स ललितपुर–२५ स्थित खाद्य उद्योगहरुको अनुगमन निरीक्षण गरि खाद्य स्वच्छता कायम गर्न आवश्यक निर्देशन दिनुको साथै गुणस्तर परिक्षणको लागि नमुना संकलन कार्य समेत गरेको छ ।