आजदेखि धरहरा खुला, निःशूल्क चढ्न पाइने

२०८१ आश्विन ३ गते प्रकाशित

काठमाडौं– संविधान दिवसका अवसर पारेर आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माणपछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो ।

अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

एक दिनमा अधिकतम पाँच सय सर्वसाधारणले निःशूल्क धरहरा चढ्न पाउने गरी व्यवस्था गरिएको छ। सर्वसाधारणले नवनिर्मित धरहरा निस्शुल्क रूपमा चढ्न पाउने छन् । अर्को व्यवस्था नहुञ्जेल सर्वसाधारणले निःशूल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।