काठमाडौं– खाद्य, प्रविधि तथा गुणस्तर विभागले चाडपर्वलक्षित बजार अनुगमनलाई थप तीव्र बनाएको छ । चाडबाडका बेला विभागले उपभोक्ताको स्वास्थ्य र गुणस्तर कायम गर्न बजार, पसल, रेष्टुरेन्ट, डेरी, पानी, वर्गर हाउसलगायतमा पुगेर अनुगमन गरिरहेको छ ।
यसैबीच विभागले बिहीबार काठमाडौँ उपत्यका भित्र चाडपर्व लक्षित खाद्य पदार्थहरुको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमनका लागि दुई वटा अनुगमन टोली खटाईएको थियो । टोलीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य उद्योग एवं व्यवसायहरुको निरीक्षण अनुगमन गरेको हो ।अनुगमनका क्रममा विभागको टोलीले एयरपोर्ट बर्ग हाउसले अखाद्य र गुणस्तरहीन खाद्य पदार्थ बेचेको पाइएपछि कारबाही गरिएको हो ।
उक्त बर्गर हाउसले फोहोरदानी खुल्ला रहेको, फ्रिजमा पाकेको र काँचो खाद्य पदार्थ एकै ठाउँमा लेबल नलगाई भण्डारण गरेको, तार्नका लागि राखेको करिब २५ लिटर तेल खुला पाइएको थियो । विभागको टोली उक्त एरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिलाई कमजोरी सुधार गरि ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हो । विभागले सोही दिन उपत्यकाभित्रका अन्य ९ वटा उद्योग व्यवसायमै पुगरे बजार अनुगमन गरी आवश्यक निर्देशन समेत दिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले कृषिपानालाई जानकारी दिए ।