उखु किसानले पाउने भए दशैंअघि नै सरकारी अनुदान

२०८१ आश्विन १० गते प्रकाशित

काठमाडौं– किसानले उखु बिक्रिबापत सरकाबाट पाउने अनुदान रकम दशैं अघि नै पाउने भएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा किसानले उखु बिक्रि गरेबापत सरकारले दिने अनुदान रकम पाउन बाँकी थियो ।

सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ उखु बिक्रिबापत किसानले दिँदै आएको अनुदान रकम वितरणमा ढिलाई गर्दै आएका थियो ।
यसअघि सरकार र किसानका प्रतिनिधिबीच पटक पटक अनुदान रकम उपलव्ध गराउने सहमति नभएको होइन् । तर, तालुक निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने बजेट अभावका कारण उखु किसानलाई अनुदान वितरण गर्न नसकिएको जनाउँदै आएको थियो ।

मन्त्रालय र किसानबीच दशैं अघि नै अनुदान रकम उपलव्ध गराउन पहल गर्ने गरी सहमति भएको थियो । गत आवमा किसानले उखु बिक्रि गरेबापत सरकारबाट पाउनुपर्ने डेढ अर्बभन्दा बढी अनुदान रकम नपाएको उखु किसान संघका अध्यक्ष कपिलमुनी मैनालीले खबरहबलाई जानकारी दिए ।

सरकारले अनुदान रकम दशैंअघि नै दिने आश्वासन दिलाएको उनको भनाइ छ । उनका अनुसार, यसअघि सरकार र उखु किसानबीच भएको छलफलमा दशैं अघि नै अनुदान रकम उपलव्ध गराउने सम्झौता भएको थियो । ‘उखु किसानले सरकारबाट पाउने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टलका दरले हो । त्यसमा झन्डै डेढ अर्ब रुपैयाँ अनुदान पाउन बाँकी छ,’ उनले भने, ‘सरकारले असोज २० अर्थात दशैं अघि दिने भनेर सहमति गरेको थियो ।’

गत २०८१ असोज ४ मा सर्लाहीका किसानहरुले जिल्ला प्रशासन कार्यालय पुगेर अनुदान रकम उपलव्ध गराइदिन माग गर्र्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । खासगरी, तराइका उखु किसानले उखु बिक्रि गरेबापत बिक्रि परिमाणका आधारमा सरकारबाट पनि अनुदान पाउँदै आएका छन् ।

विगतका वर्षहरु पनि किसानले सरकारी अनुदान रकम पाउनुपर्ने माग गर्दै सडकमा आन्दोलन गर्ने गरेका थिए । सर्लाहीलगायत विभिन्न जिल्लाका किसानहरु काठमाडौंको माइतीघरमै आएर भुक्तानी दिलाइदिन माग गर्दै प्रदर्शन गर्ने गरेका थिए । तर, यसपाली भने दशैं अघि नै अनुदान पाउने आसामा रहेका किसानले आन्दोलन भने गरेनन् ।

यता, तालुक निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने उखु किसानको अनुदान दशैं अघि नै किसानको खातामा पुग्न व्यवस्था गरिने जनाएको छ । दशैं अघि उखु किसानले अनुदान रकम पाउने मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । ‘गत वर्षकै १ अर्ब ४४ करोड रुपैयाँ दशैं अघि नै किसानको खातामा पुग्ने व्यवस्था मिलाउन पहल गरिरहेका छौं,’ उनले भने, ‘कृषि मन्त्रालयले पठाएको फाइल अर्थ मन्त्रालयमा छ । अर्थबाट शायद आजभोलीमा निर्णय हुन्छ कि जस्तो लाग्छ ।’

यस वर्ष सरकारले उखु किसानका लागि कुल २ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये गत वर्षको बक्यौता दशैंअघि १ अर्ब ४४ करोड रकम उखु किसानकै खातामा पुग्ने गरी सम्वन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत पठाइनेछ ।

‘विनियोजन भएकोमध्ये हामीसँग अझै ८० करोड रकम बाँकी नै रहन्छ । विनियोजन भएको बजेट र यो वर्ष क्रसिङ गरेको उखुको अनुदान रकम यसवर्ष नै भुक्तानी पाउने केसीको भनाइ छ ।