काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज १५ गतेका दिन काठमाडौं उपत्यका भित्रका उद्योग तथा व्यवसायमा पुगेर नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमन गरेको छ ।
विभिन्न ४ वटा टोली बनाएर गरिएको बजार अनुगमनका क्रममा दूग्ध विकास संस्थान(डीडीसी) लैनचौर र संगम स्वीट्स पानीपोखरीले खाद्य ऐनको मापदण्ड पालना नगरेको पाइएको छ । अनुगमनका क्रममा डीडीसीको चीज भण्डारण कक्षको पूर्वाधार सन्तोषजनक नरहेको र संगम स्वीट्स प्रालिमा किचेनको चिम्नी फोहोर भएको र तार्ने तेलको परिमाण २६ रहेको पाइएको हो ।
त्यस्तै, विभागको अनुगमन र संयुक्त अनुगमन टोलीले डीडीसी र संगम स्वीट्ससहित उपत्यका भित्रका विभिन्न १५ उद्योग तथा व्यवसायमा पुगेर बजार अनुगमन निरिक्षण गरेको हो । चाडपर्व नजिकिएसँगै उपभोक्ता नठगिउँन भनेर खाद्य स्वच्छता र गुणस्तरमा ध्यान दिएर अनुगमन गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले कृषिपानालाई बताए ।
सोमबार यी उद्योगको गरियो अनुगमन
असोज १५ गते एकैदिन विभागको टोलीले नयाँ बानेश्वर, शंखमुल, चन्द्रागिरी, लैनचौर, पानीपोखरीक्षेत्रमा पुगेर बजार अनुगमन गरेको थियो । आकाश फुड्स, ललितपुर, जनकपुर स्विट एण्ड चाट सेन्टर, नयाँ बानेश्वर, काठमाडौँ, राधे फलफुल पसल, नयाँ बानेश्वर, काठमाडौं र महावीर स्विट्स एण्ड चाट, नयाँ बानेश्वरमा पुगेर अनुगमन निरिक्षण गरी आवश्यक कारबाही र निर्देशन दिएको हो ।
उमोज कफी प्रालि, शंखमूल, काठमाडौँ, भिन्तुना रिसोर्ट प्रालि, चन्द्रागिरी, त्रिपाठी फलफूल तथा जूस सेन्टर, चन्द्रागिरी–७, राजलक्ष्मी इन्टरप्राइजेज, चन्द्रागिरी, न्यु मिनी स्टोर, चन्द्रागिरी, ब्लु हेभन, चन्द्रागिरी, व्यंजन रेस्टुरेन्ट एण्ड थकाली खाजा घर, चन्द्रागिरी र नेवारी खाजा घर, चन्द्रागिरीमा पुगेर चारवटा अनुगमन टोलीले बजारको अनुगमन निरिक्षण गरी आवश्यक कारबाही र निर्देशन दिएको हो ।