भद्रपुर नगरपालिकाको रैथाने कोदो खेतीलाई प्राथमिकता दिँदै कार्यक्रम सञ्चालन

२०८१ मंसिर २१ गते प्रकाशित

काठमाडौं- भद्रपुर नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कोदो खेतीलाई प्राथमिकता दिँदै करिब ३५० कठ्ठा क्षेत्रफलमा खेती गरिएको कोदो बालीको अनुगमन सम्पन्न गरेको छ । अनुगमन क्रममा कृषकहरूले आफ्नो बालीका समस्या, उत्पादन अवस्था, र आगामी सुधारका सुझावसहित आवेदन दिएका छन् ।

नगरपालिकाले रैथाने बालीहरूको संरक्षण र प्रवर्द्धन गर्दै कृषकहरूको उत्पादनशक्ति वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरेको हो । कोदोजस्तो पोषणयुक्त बालीलाई प्राथमिकता दिँदै यो कार्यक्रमले स्थानीय बालीको परम्परागत महत्वलाई पुनःस्थापना गर्दै किसानहरूको आर्थिक स्तर सुधार गर्न मद्दत पुर्‍याउने उद्देश्य राखेको छ।

रैथाने बालीको संरक्षण र विस्तार, स्थानीय कृषकलाई आर्थिक रूपमा सशक्त बनाउने, कोदो खेतीबाट पोषण सुरक्षा र स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने जस्ता उद्देश्य साथ कार्यक्रम संचालन गरिएको छ ।

नगरप्रमुख गणेश पोखरेलले भने ूरैथाने बालीहरू हाम्रो परम्परा, संस्कार, र पहिचानसँग जोडिएका छन् । कोदो खेतीले स्थानीय कृषकहरूको आयआर्जनमा सकारात्मक प्रभाव पार्नेछ । यस कार्यक्रमले आधुनिक प्रविधि र परम्परागत ज्ञानलाई एकसाथ जोडेर दिगो कृषि प्रणालीको विकास गर्नेछ।ू “रैथाने बाली प्रवर्द्धन कार्यक्रमले कृषिमा विविधता ल्याउने मात्र होइन, स्थानीय समुदायको जीवनस्तर सुधार्न पनि योगदान पुर्‍याउनेछ । यसका लागि किसानहरूलाई प्रोत्साहनस्वरूप प्रति कठ्ठा १,००० रुपैयाँ अनुदान उपलब्ध गराइनेछ।”

यसैगरी नगर उपप्रमुख राधा कार्कीले भनिन् ूकोदोजस्ता रैथाने बालीको संरक्षण र प्रवर्द्धन नगरपालिकाको प्रमुख प्राथमिकता हो । यसले न केवल पोषण सुरक्षामा योगदान पुर्‍याउँछ, तर महिलाहरूको समेत सशक्तीकरण गर्छ । कृषकहरूले यसको महत्त्व बुझ्दै उत्पादन प्रविधिमा सुधार गर्न ध्यान दिनुपर्छ । नगरपालिकाले यस अभियानलाई निरन्तरता दिँदै थप कृषकलाई समेट्ने योजना बनाएको छ।ू
नगरपालिकाले आगामी वर्षहरूमा कोदो खेतीको क्षेत्रफल विस्तार गर्ने र प्रविधि हस्तान्तरण गर्दै उत्पादन वृद्धि गर्ने योजना बनाएको छ । साथै, कृषकहरूको मागअनुसार गुणस्तरीय बीउ र मल उपलब्ध गराउँदै समृद्ध भद्रपुरको परिकल्पना गर्न कदम चालिनेछ ।
रैथाने बाली प्रवर्द्धन कार्यक्रमले भद्रपुर नगरपालिकाका कृषकहरूलाई रैथाने ज्ञान र आधुनिक प्रविधिको संयोजन गर्न प्रेरित गरिरहेको छ । कोदो खेतीलाई प्रोत्साहित गर्दै नगरपालिकाले खाद्य सुरक्षा र आर्थिक समृद्धिमा ठोस योगदान गर्ने लक्ष्य लिएको छ ।