बागलुङमा सिँचाइ अभावले ७५ प्रतिशत खेतीयोग्य जमिन बाँझो

२०८१ मंसिर २६ गते प्रकाशित

बागलुङ– बागलुङ जिल्लाको अधिकांश खेतीयोग्य जमिन सिँचाइ अभावका कारण बाँझो अवस्थामा छ । कुल ४६,१४८ हेक्टर खेतीयोग्य जमिनमध्ये ७५ प्रतिशतभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा नहुँदा किसानहरू खेती गर्नबाट वञ्चित भएका छन् ।

जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा भएको क्षेत्रफल केवल २,८४१ हेक्टर रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । पर्याप्त खेतीयोग्य जमिन भए पनि आकाशे पानीमा निर्भर रहनुपर्दा उत्पादनमा कमी आएको छ ।

गलकोट नगरपालिका र निसीखोला गाउँपालिकाका किसानहरूले सिँचाइ समस्याका कारण खेतीयोग्य जमिन बाँझो बन्ने र खाद्यान्न उत्पादनमा कमी आउने अवस्था झेल्नुपरेको बताएका छन् । सरोकार निकायले समयमा योजना पूरा नगर्दा र सिँचाइका मुहान सुक्दै जाँदा समस्या थप गम्भीर बनेको किसानहरूको गुनासो छ ।

किसानहरूले सिँचाइ समस्या समाधान गरी उत्पादन बढाउन सरकारसँग माग गरेका छन् ।