दाङ– दाङका महिलाहरूले स्थानीय वनमा पाइने सालका पातको उपयोग गरी स्वरोजगार बन्ने नयाँ पहल थालेका छन् । घोराही उपमहानगरपालिका–१२ डाँडागाउँका सात महिलाले उद्यमशील दुना टपरी महिला समूह गठन गरी व्यावसायिक रूपमा दुनाटपरी उत्पादन सुरु गरेका छन् ।
सोसेक नेपाल नामक संस्थाले महिलाहरूलाई मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर गत भदौदेखि व्यवसाय थाल्न सहयोग पुर्याएको हो । संस्थाले तालिमसँगै मेसिन राख्ने घरसमेत निर्माण गरिदिएको समूहका अध्यक्ष पुष्पा चौधरीले बताइन् ।
समूहकी सदस्य सुशीला चौधरीले स्थानीय खजुरी सामुदायिक वनबाट प्राप्त सालका पात आफ्नो आम्दानीको स्रोत भएको उल्लेख गरिन् । भदौयता मात्र उनले दुई हजार दुनाटपरी बिक्री गरी रु १० हजार आम्दानी गरेकी छिन् । समूहका अन्य सदस्यहरूले पनि यन्त्र प्रयोग गरी दुनाटपरी बनाउँदै राम्रो आय आर्जन गरिरहेका छन् ।
सोसेक नेपालका जिल्ला संयोजक द्रोण जिसीले विपन्न र सीप सिक्न इच्छुक महिलालाई छनोट गरी सीपमूलक तालिम प्रदान गरेको र त्यससँगै बीउ पुँजीसमेत उपलब्ध गराइएको जानकारी दिए ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन् । यस पहलले ग्रामीण महिलाहरूको आर्थिक सशक्तीकरणमा नयाँ आयाम थपेको छ ।