म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गामा अवस्थित हरियाली कृषि फार्मले आर्थिक वर्ष २०८०र८१ मा रु ३ करोड १६ लाखभन्दा बढीको कृषि उपज बिक्री गरेको छ । फार्मले अण्डा, सागसब्जी, माछा, फूल, र जैविक मलसहित विभिन्न कृषिजन्य उत्पादन बेच्दै आएको छ । साथै, सिङ्गा तातोपानीमा आउने पर्यटकलाई लक्षित गर्दै फार्मले होटल र रेस्टुरेन्टको सेवा पनि सञ्चालन गरेको छ ।
कम्पनीका अध्यक्ष शेरबहादुर केसीका अनुसार, यस वर्ष तरकारी, फलफूल, लोकल तथा लेयर्स कुखुरा र मल बिक्रीबाट भएको आम्दानीमा वृद्धि भएको छ । रु १२ करोडको कुल लगानी भएको यस फार्ममा ६४ जना शेयर सदस्यको रु ४ करोड ८३ लाखको पुँजी छ भने राष्ट्रिय वाणिज्य बैंकको सहुलियतपूर्ण ऋणको रु ५ करोड लगानी छ ।
फार्मले सिङ्गामा १७ परिवारको ८५ रोपनी, आङेबगरमा १९ परिवारको ८५ रोपनी, र भकिम्लीमा १०।५ रोपनी जमिन भाडामा लिएर कृषि उत्पादन गर्दै आएको छ । हरियाली कृषि फार्म म्याग्दीको ठूलो कृषि परियोजना बनेर क्षेत्रीय विकासमा योगदान दिँदै आएको छ ।