मुस्ताङमा चिस्यान गृहको सफल प्रयोगले स्याउ उत्पादन र मूल्यमा वृद्धि

२०८१ पुष १ गते प्रकाशित

म्याग्दी– मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह (कोल्ड स्टोर) निर्माणपछि किसानहरूलाई ठूलो राहत भएको छ । चिस्यान गृहको प्रयोगले स्याउ कुहिने समस्या हटाएको र लामो समयसम्म स्याउको गुणस्तर कायम राख्न सफल भएपछि किसानहरूले राम्रो मूल्यमा बिक्री गर्न पाएका छन् ।

चिस्यान गृहमा असोजमा टिपेको स्याउ चैतदेखि जेठसम्म सुरक्षित राख्दा यसको गुणस्तर, तौल र आकारमा कुनै फरक नपरेको कृषकहरूले बताएका छन् । याममा व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता हटेर स्याउ बेसिजनमा प्रति किलो रु २५० सम्म बिक्री भएको छ ।
मुस्ताङमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, र स्थानीय तहको सहकार्यमा ३०० मेट्रिक टन क्षमताका १० वटा चिस्यान गृह निर्माण गरिएका छन् । सुरक्षित भण्डारणको सुविधाले किसानहरूले बजारमा नियमित पहुँच पाउनुका साथै बढी आम्दानी गर्न सफल भएका छन् ।

यस वर्ष मुस्ताङमा ७,३२९ मेट्रिक टन स्याउ उत्पादन भएको छ, जुन गत वर्षभन्दा ३५ प्रतिशतले बढी हो । उच्च घनत्वको हाइब्रिड जातको स्याउ खेती विस्तार, रोगव्याधि व्यवस्थापन, र अनुकूल मौसमले उत्पादन वृद्धि गर्न मद्दत गरेको हो ।

मुस्ताङबाट झन्डै रु ८२ करोड मूल्यको स्याउ पोखरा, काठमाडौं, र अन्य जिल्लामा निकासी गरिएको छ भने रु १० करोड बराबरको स्याउ पर्यटकहरूले स्थानीय रूपमा खरिद गरेका छन् । चिस्यान गृहको सफलताले किसानहरूको आय मात्र नभई मुस्ताङको स्याउ खेतीको समग्र व्यवसायिकरणमा ठूलो योगदान गरेको छ ।