बाँझो जमिनको उपयोग गर्दै कोदोखेतीबाट आयआर्जन गर्न सफल ग्रामीण महिला

२०८१ पुष ३ गते प्रकाशित

गलेश्वर– म्याग्दी जिल्लाका ग्रामीण महिलाले बाँझो जमिनलाई उपयोग गर्दै कोदोखेतीबाट आयआर्जन गर्न सफल भइरहेका छन् । रघुगङ्गा गाउँपालिका(६ की हिमा छन्त्यालले यस वर्ष चार मुरी कोदो बिक्री गरेर रु १७ हजार आम्दानी गरिन् । असारमा रु ४ हजारको लागतमा उनले बाँझो बारीमा कोदोखेती गर्दा रु ३० हजार बराबरको सात मुरी कोदो उत्पादन भएको थियो ।

छन्त्याल मात्र होइन, म्याग्दीका किसानहरु पछिल्लो समय कोदोखेतीतर्फ आकर्षित भइरहेका छन् । उत्पादन गर्न सजिलो र बजारमा राम्रो मूल्य पाउन थालेपछि ग्रामीण महिलाले बाँझो जमिनमा कोदोखेती विस्तार गरेका हुन् । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार कोदोमा भरपूर पौष्टिकतत्व पाइने भएकाले बेनी, पोखरा र काठमाडौं जस्ता सहरी क्षेत्रमा यसको माग उच्च छ ।

कोदोखेतीको प्रबर्द्धनमा स्थानीय तहले सहुलियत कार्यक्रम र बजारीकरणको प्रबन्ध गर्न थालेका छन् । मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरका अनुसार कोदोको घरेलु मदिरा उत्पादन र खानाका लागि पनि माग बढिरहेको छ। उनले कोदोको मदिरालाई ब्रान्डिङ गरी बजारीकरण गर्ने योजना रहेको बताइन् ।

तीन वर्षअघिसम्म प्रतिपाथी रु ६० मा पनि नबिक्ने कोदो अहिले रु २०० मा बिक्री हुन थालेको किसानहरुले बताएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दीमा २,७५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको छ ।

गाउँगाउँमा सञ्चालित होमस्टे ९घरवास० मा कोदोका परिकारलाई प्राथमिकता दिइएको छ । यसले ग्रामीण महिलाको आयआर्जनसँगै गाउँको आर्थिक स्थितिमा सुधार ल्याएको छ । स्थानीय र प्रदेश सरकारले कोदोको बजार व्यवस्थापन र व्यावसायिकरणलाई थप प्राथमिकता दिए कोदो म्याग्दीका किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्न सक्ने व्यवसायी अमृत सापकोटाले बताएका छन् ।