छैठौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८१ स्थगन

२०८१ माघ २२ गते प्रकाशित

बुटवल, २० माघ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा बुटवल मण्डपमा आयोजना हुने भनिएको छैठौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८१ स्थगन गरिएको छ।

प्रदर्शनीको मिति २०८१ फागुन १५ देखि १८ गते सम्म राखिएको थियो। यद्यपि, हाल अमेरिकन सरकारले नेपाल सरकारलाई दिँदै आएको अनुदान रकम ९० दिनका लागि स्थगित गरेको र यसका कारण प्रदर्शनीका विभिन्न शिर्षकअन्तर्गतका आर्थिक सहयोग पनि रोकिएको जनाएको छ।यूएसएड र नेपाल सरकारका अन्य निकायबाट प्रदान गरिने सहयोग स्थगित हुनुका कारण आयोजकहरूले प्रदर्शनीको मिति पछि सर्नुपर्ने निर्णय गरेका हुन्।

प्रदर्शनी स्थगनको निर्णयले हालको मितिमा तयारी गर्न कठिनाई भएको र निर्धारित मितिमा कार्यक्रम आयोजना गर्न असम्भव भएको जानकारी दिइएको छ। आयोजक संघले यसबाट भएका असुविधाका लागि माफी पनि मागेको छ र आगामी सूचनासम्म प्रदर्शनी स्थगित रहने जनाइएको छ।
यस प्रदर्शनीमा कृषि यन्त्र र प्रविधिको प्रदर्शन तथा कृषकहरूलाई आधुनिक कृषि प्रविधिसँग परिचित गराउने उद्देश्य राखिएको थियो। आयोजक समितिले आगामी दिनमा नयाँ मिति निर्धारण गरी सूचना जारी गर्ने बताएको छ।

प्रदर्शनी स्थगनले कृषि क्षेत्रमा नयाँ प्रविधि र यन्त्रहरूको प्रदर्शन तथा कृषकहरूलाई प्रशिक्षण दिने कार्यक्रममा ढिलाई हुने देखिएको छ। यसले कृषि यान्त्रीकरणको क्षेत्रमा हुने प्रगतिमा असर पार्न सक्ने विश्लेषकहरूको भनाई छ।