बहुमत नपुग्ने भएपछि अड्कियो अध्यादेश

२०८१ माघ २५ गते प्रकाशित

काठमाडौं– अध्यादेश पारित गर्न संघीय संसद्को राष्ट्रिय सभामा सामान्य बहुमत नपुग्ने निश्चित भएपछि सरकार संसद्मा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नबाट पछि हटेको छ । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश पारित गर्न सहयोग नगर्ने भएपछि सरकार पछाडि हट्न बाध्य भएको हो । सरकारले प्रस्तुत गरेको अध्यादेशको पारित गर्ने ग्यारेण्टी नभएपश्चात् बिहीबारको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अध्यादेशको विषय प्रवेश नै हुन सकेन । संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू बिहीबार निर्णयार्थ प्रस्तुत हुन नसकेका हुन् ।

राष्ट्रिय सभाको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो । सत्तारूढ दलका एक नेताका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरिएको थियो । प्रतिनिधि सभामा सरकारसँग स्पष्ट बहुमत छ । तर, राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने संसद्को कार्यसूची नै हटाइएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई बिहीबार अध्यादेश प्रस्तुत नगर्ने जानकारी गराउनुभएको थियो । जसपा नेपालले अध्यादेशलाई समर्थन गर्ने वा नगर्ने निर्णय गरिसकेको छैन । प्रतिनिधि सभामा सत्ता गठबन्धनको स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा भने सरकारलाई जसपा नेपालको साथ अनिवार्य छ । कांग्रेस(एमाले गठबन्धनबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेको जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशमा विमति जनाइरहेको छ । अन्य पाँच अध्यादेशमा भने समर्थन गर्ने संकेत जसपा नेपालले गरेको छ । अध्यादेश पारित गराउन प्रतिनिधि सभामा सत्तारूढ कांग्रेस र एमालेसँग स्पष्ट बहुमत छ भने राष्ट्रिय सभामा बहुमत पु¥याउन जसपा नेपालको साथ चाहिन्छ ।

संघीय संसद्का दुवै सदनबाट स्वीकार नभए अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक प्रावधान छ । राष्ट्रिय सभामा ५९ सांसद छन् । अध्यादेश स्वीकार गर्न बहुमत अर्थात् कम्तीमा ३० सांसदको साथ चाहिन्छ । राष्ट्रिय सभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत दुई र लोसपाका एक गरी २९ सांसद छन् । विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका आठ र राष्ट्रिय जनमोर्चाका एक गरी २६ सांसद छन् ।

अध्यादेश स्वीकार कि अस्वीकार गर्ने निर्णय लिन बाँकी जसपा नेपालका तीन सांसद छन् । जसपा नेपालले स्वीकार गर्ने निर्णय लिए अध्यादेशमा बहुमत हुनेछ भने अध्यादेश अस्वीकार गर्ने पक्षमा जसपा उभियो भने दुवैतिर समान २९(२९ सांसद हुनेछन् । त्यस्तो अवस्थामा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मत दिनुपर्ने हुन्छ । सरकारले गत माघ १८ गते प्रतिनिधिसभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो । ती अध्यादेश अस्वीकृत गर्न राष्ट्रिय सभामा १६ र प्रतिनिधि सभामा ५० वटा अस्वीकृत प्रस्ताव दर्ता भएका छन् । अध्यादेश दुवै सदनबाट पारित भए मात्र ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउन पाइन्छ ।

अध्यादेशबारे जसपा अनिर्णित

अध्यादेशबारे निर्णय गर्न बिहीबार बसेको जसपा नेपालको संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेशको समर्थन वा विरोध गर्ने भन्ने कुनै निर्णय लिन नसकेको हो । सरकारले ल्याएको अध्यादेश प्रतिनिधि सभाको बैठकबाट सहजै पारित हुने भए पनि राष्ट्रिय सभाबाट पारित हुने स्थिति नरहेपछि जसपा नेपालसँग सरकारले समर्थनका लागि आग्रह गरिरहेको छ । सोही विषयमा निर्णय गर्न संसदीय दलको बैठक बसेको भए पनि संसद्को आजको कार्यसूचीबाट अध्यादेशसम्बन्धी विषय हटेपछि कुनै निर्णय नगरेको जसपाकी प्रमुख सचेतक रेखा यादवले जानकारी दिनुभयो । प्रमुख सचेतक यादवले भन्नुभयो, ‘संसद्को कार्यसूचीबाट अध्यादेश हटेसँगै हामीले पनि अर्को दिन बस्नेगरी बैठक स्थगन गरेका छौँ । एकरदुई दिनमै निर्णय हुनेछ । सुकुम्बासीको पहिचान हुनुपर्‍यो । भूमिहीनलाई पहिचान गरेर जहाँको बासिन्दा हो त्यहाँ नै बसोबास हुनपर्छ । उनीहरूलाई बसाइँसराइ गर्नु हुँदैन ।’

मधेसको मुख्यमन्त्रीमा जसपाको दाबी

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश सरकार आफ्नो पार्टीको नेतृत्वमा हुनुपर्ने माग गर्नुभएको छ । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै छलफल गर्नुभएका यादवले मधेस सरकार जसपा नेपालको नेतृत्वमा हुनुपर्ने माग गर्नुभएको हो । हाल मधेस सरकार सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा छ । सरकारले ल्याएका अध्यादेश मात्र होइन, भविष्यमा ल्याउने विधेयक पारित गर्न पनि राष्ट्रिय सभामा बहुमत आवश्यक पर्छ । त्यसको लागि सरकारलाई जसपाको साथ अनिवार्य छ । जसपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको छ । सरकारलाई समर्थन गरेको दललाई मधेस सरकारमा भए पनि सामेल गर्न कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । कांग्रेसका एक पदाधिकारीले भन्नुभयो, ‘उहाँले मधेस मुख्यमन्त्री पाउनुपर्छ भन्नुभएको छ, दीर्घकालीन सहकार्यका लागि कांग्रेस(एमाले पनि सकारात्मक छन् ।’

प्रधानमन्त्री ओलीनिकट एक नेताका अनुसार अध्यक्ष यादवले प्रधानमन्त्री र कांग्रेस सभापतिसँगको भेटमा उपप्रधानसहित स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयमध्ये एक मागेको दाबी गरेका छन् । यदि यी दुईमध्ये एक मन्त्रालय नदिने भए मधेस प्रदेशको मुख्यमन्त्री मागेको प्रधानमन्त्री ओलीनिकट नेताको भनाइ छ । तर, जसपा प्रवक्ता मनिष सुमनले अहिले मन्त्रालय र सरकार आफ्नो पार्टीको प्राथमिकतामा नभएकाले सरकारमा जान आफूहरूले बार्गेनिङ नगरेको जिकिर गर्दै भन्नुभयो, ‘संघीय सरकारका मन्त्रालय र मुख्यमन्त्री पद हाम्रो प्राथमिकतामा छैन । हामीले अन्य मागस्वरूप जनतामा एजेण्डाहरू राखेका छौँ । अध्यादेशको सन्दर्भमा पनि बुँदागत रूपमा संशोधन गर्नुपर्ने कुरा बुझाएका छौँ । हामी सरकारमा जान लालायित छैनौँ ।’

अध्यादेशबाट सरकार चलाउने यही हो लोकतन्त्र- केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको टिप्पणी गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष केसीले भन्नुभयो, ‘समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने रु यही हो लोकतन्त्र रु यसो गर्नु हुँदैन । संसद् नचलाउने यो लोकतन्त्र होइन, अप्रजातान्त्रिक अभ्यास हो ।’

अध्यादेश स्वीकृत हुनेमा कुनै समस्या छैन- बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले जारी गरेको अध्यादेश स्वीकृत हुने कुरामा कुनै समस्या नभएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकपश्चात् उहाँले अध्यादेशसँग सम्बन्धित विषयको निर्णयमा पुग्नको लागि असहजता भएको हो कि रु भन्ने प्रश्न उठ्ने गरेको भन्दै यसमा कुनै समस्या नभएको स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, ‘अध्यादेशको बारेमा कहिले काही विवेचना पनि हुन्छन् । कतै केही अध्यादेशसँग सम्बन्धित विषयको निर्णयमा पुग्नको लागि असहजता हो भनेर तर यी विषयमा केही समस्या छैन । दुवै हाउसबाट सरकारले जारी गरेको अध्यादेश संसद्मा पेस भएको छ । स्वीकृत हुने कुरामा कुनै समस्या छैन ।’

आफ्ना सांसदलाई कांग्रेसको हृवीप

सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारले संसद्मा ल्याएको अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई हृवीप जारी गरेको छ । सांसद रामहरि खतिवडाले दिएको जानकारीअनुसार सरकारले ल्याएको अध्यादेश सदनको दुवै हाउसबाट पारित गर्न पार्टीले हृवीप जारी गरेको हो । बिहीबार बसेको संसदीय दलको बैठकमा मन्त्रीहरूले कार्यप्रगति विवरण राखेको जानकारी दिँदै खतिवडाले भन्नुभयो, ‘मन्त्रीहरूले कुरा राखे । मन्त्रीहरूले जनताको पक्षमा देखिने गरी काम गरून् भन्ने कुरा भयो । सभापतिज्यूले पनि केन्द्र र पार्टीको इज्जत राख्नेगरी काम गर्न निर्देशन दिनुभयो ।’ त्यस्तै, बैठकले आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि, सुशासन प्रवद्र्धनलगायत सम्बन्धी अध्यादेशलाई समर्थन गर्ने निर्णय गरेको छ । राष्ट्रको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै जसपा नेपालले समर्थन गर्ने कांग्रेसको विश्वास छ ।

राष्ट्रिय सभामा दुई विधेयक पेस

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा दुई विधेयक पेस भएका छन् । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ र ‘पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेस गरिएको हो । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पेस गर्नुभएको हो । त्यस्तै, पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पेस गर्नुभएको हो । विधेयक पेस गर्दै शिक्षामन्त्री भट्टराईले वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्यायिक परिक्षणमा सहयोग पुर्‍याउन तथा विधि विज्ञानको सम्बन्धमा अनुसन्धान र परीक्षणलाई विशिष्टीकृत बनाउनका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । पानीजहाज सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कैयौँ नेपाली नागरिक पानीजहाज कम्पनीहरूमा काम गर्दै आएको उल्लेख गर्दै ती कामदारहरूको तलब र स्वास्थ्य परीक्षण समेट्न विधेयक ल्याइएको बताउनुभयो । हिमालय टाइम्सबाट साभार गरिएको