काठमाडौं– विगत तीन वर्षअघि बजारमा आएको ‘कालोकेशमा रेलिमई’का गायक दिनेश ढकालले आफ्नै सांगितिक ब्याण्डसहित बजारमा आएका छन् । ब्याण्डसँगै ढकालले गत फागुन २३ गते पद्मश्री कलेजद्धारा आयोजित म्युजिकल फेष्टिभलका अवसरमा आफ्नो पहिलो सांगितिक प्रस्तुति दिएका थिए ।

कलेजको आयोजनामा भएको पहिलो सांगितिक प्रस्तुति भब्य रुपमा सम्पन्न भएको गायक ढकालले बताए । कलेजको म्युजिक फेष्टिभलका अवसरमा ढकालले आफ्नै सिर्जना कालोकेशमा रेलिमई, माया नौजालेलगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

उनको प्रस्तुतिमा कलेजमा उपस्थित विद्यार्थी तथा दर्शकदीर्घाले भरपुर मनोरञ्जन लिएका थिए । ६ वटा सांगितिक प्रस्तुती दिएका ढकालले गाएको ‘कालोकेशमा रेलिमई’ गीतलाई त दर्शकदीर्घाबाट ‘वान्समोर’ को हल्ला उत्तिकै थियो ।

दिनेश ढकाल एण्ड डोको नाम्लो ब्याण्डमा हाल ६ जना संगीतकर्मीहरु आवद्ध छन् । जसमा सारंगीमा अनिल गन्धर्व, गितारमा दुर्गा क्षेत्री, ड्रमसेटमा भुवन खत्री, बेस गितारमा दिवश विस्ट र किबोर्डमा पुस्पन श्रेष्ठ छन् ।

पद्मश्री कलेजमा पहिलो सांगितिक प्रस्तुति भव्य रुपमा सम्पन्न भएको गायक ढकालले बताए । पहिलो सांगितिक प्रस्तुति राख्ने मौका दिलाएकोमा पद्मश्री कलेजप्रति ब्याण्ड समुह आभारी रहेको ढकालले बताए । ब्याण्डले आउँदो होलिका अवसरमा पनि आफ्नो सांगितिक कार्यक्रम रहेको जनाएको छ ।


ब्याण्डले विभिन्न ठाउँमा सांगितिक प्रस्तुति दिनुका साथै आगामी दिनमा नेपाल टुरको समेत योजना रहेको ढकालले बताए । स्वंगीय संगीतकार झलकमान गन्धर्वबाट प्रभावित भइ नेपाली सांगितिक क्षेत्रमा प्रवेश गरेका ढकालले ब्याण्डसँगै मौलिक र माटो सुहाउँदो संगीत सिर्जनामा आफु लागि परेको बताए ।