काठमाडौं– आगामी चैत १ गतेदेखि २६औँ पुष्प मेला(फ्लोरा एक्स्पो) हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा चैत १ गतेदेखि सञ्चालन हुने एक्स्पोको तयारी तीव्र पारिएको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) ले जनाएको छ ।
मेलामा ८२ स्टल रहने छन । मेलामा पुष्प व्यवसायीले उत्पादन गरेका विभिन्न फूल तथा बिरुवालाई विभिन्न विधामा प्रतिस्पर्धा गराएर उत्कृष्टलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहने मेला संयोजक रामबहादुर तामाङले बताउनुभएको छ । एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प तथा पुष्पजन्य वस्तुको राष्ट्रियस्तरमा प्रचारप्रसार गरी बजार विस्तार गर्न, उत्पादन बिक्री गर्न, पुष्प व्यवसायी र पुष्प उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क तथा समन्वय बढाउन, विश्व बजारमा विकास भएका नयाँ(नयाँ उत्पादनलाई सार्वजनिक गर्न मेलाबाट सहयोग पुग्ने बताउनुभयो ।
आयोजकका अनुसार मेलामा छ सय प्रकारका आलंकारिक प्लान्ट, पाँच सय प्रकारका फूल तथा फलफूलका बिरुवा, तीन सय प्रकारका सिरेमिक तथा प्लास्टिक गमला, दुर्ई सय प्रकारका कौशीखेतीलाई आवश्यक सामग्री राखिनेछ । हाल नेपालमा करिब पाँच सय ३० नर्सरी, ९० कटफ्लावर उत्पादक, एक सय ५८ पुष्प थोक व्यवसायी, छ सय २५ इनपुट सप्लायर्स र तीन सय ६५ लुज फ्लावर उत्पादनमा संलग्न रहेका र पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ५१ हजार पाँच सयभन्दा बढीले रोजगारी प्राप्त गरेको फ्यानले जनाएको छ । मेला चैत ४ गतेसम्म सञ्चालन हुनेछ ।