खाद्य स्वच्छता दिवश सप्ताहव्यापी रुपमा मनाइने

२०८२ जेष्ठ २१ गते प्रकाशित

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विश्व खाद्य स्वच्छता दिवश सप्ताहव्यापी रुपमा मनाउँदैछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विश्व खाद्य स्वच्छता दिवश सप्ताहव्यापी रुपमा मनाउँदैछ । विभागले सोमबार पत्रकार सम्मेलन गर्दै जेठ १८ गतेदेखि २४ गतेसम्म सप्ताहव्यापी रुपमा कार्यक्रम मनाउन लागेको जानकारी दिएको छ ।

१७ औं विश्व खाद्य स्वच्छता दिवशका अवसरमा विभाग र मातहतका कार्यालयहरुले खाद्य स्वच्छतासम्वन्धि दिवश देशव्यापी रुपमा भव्यताका साथ मनाउन लागेको हो । विभागका अनुसार, खाद्य स्वच्छता दिवशको नारा र सन्देश सहितको ब्यानर राख्ने एवं विभागको वेभसाइटमा अपलोड गर्ने, विभिन्न अतिरिक्त क्रियाकलापहरु मैत्रीपूर्ण क्रिकेट, ब्याडमिन्टन तथा टेबुलटेनिस प्रतियोगिताको आयोजना, विभाग परिसर सरसफाइ तथा पत्रकार भेटघाट, खाद्य स्वच्छता सम्वन्धी कृषि सुचना तथा प्रशिक्षण केन्द्र र काठमाडौं महानगरपालिको कार्यालयको समन्वयमा खाद्य स्वच्छता संवाद कार्यक्रम, राष्ट्रिय टेलिभिजन कार्यक्रममा संवाद, एफएम टीभीलगाय सञ्चार माध्यममा सुचना सन्देश प्रसारण गर्ने जनाएको छ ।

त्यस्तै, काठमाडौं महानगरसँगको सहकार्यमा मोबाइल फुड ल्याब भ्यान परिचालन गरी होटल रेष्टुरेन्ट दूध, प्रशोधित पिउने पानी, ताजा फलफुल तथा तरकारीको अनुमगन निरिक्षण, खाद्य प्रविधि सम्वन्धि पठनपाठन हुने शैक्षिक संस्थाबीच वक्तृत्वकला प्रतियोगिता तथा खाद्य स्वच्छता एवं शुक्ष्मजैविक प्रतिरोध सम्वन्धी सचेतना कार्यक्रम रहनेछन्

आगामी जेठ २४ गते विश्व खाद्य स्वच्छता दिवशको दिन बिहान प्रभातफेरी कार्यक्रम गरी सोही दिन दिउँसो मूल समारोह कार्यक्रम सञ्चालन गर्ने विभागले जनाएको छ ।

‘खाद्य पदर्थामा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने मूल नाराका साथ यो दिवश मनाउन लागिएको विभागले जनाएको छ । विभागका अनुसार हरेक वर्ष ७ जुनका दिन विश्व खाद्य स्वच्छता दिवश मनाउने गरिएको छ । नेपालले २०६५ सालदेखि नै यो दिवश मनाउँदै आएको छ ।

विश्व स्वास्थ्य संगठन९डब्लूएचओ०को तथ्यांकअनुसार विश्वमा हरेक वर्ष अस्वच्छकर एवं दूषित खाद्य पदार्थबाट झाडापखाला देखि क्यान्सरसम्म लाग्ने २०० भन्दा बढी, प्रत्येक दशजनामध्ये एक जनामा विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने ४ लाख २० हजार मानिस खाद्यजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको छ ।

खाद्य स्वच्छताको सवाल संयुक्त राष्ट्रसंघका अन्य सदस्य मुलुकहरुमा समेत रहेकाले नेपालको परिप्रेक्ष्यमा खाद्य स्वच्छता र गुणस्तर सुधार उल्लेख्य रुपमा भइरहेको विभागका महानिर्देशक सञ्जीब कर्णले जानकारी दिए ।

‘संयुक्त राष्ट्र संघको ७३ औं महासभाले यो दिवश मनाउने आवश्यकता ठानेर मनाउँदै आइएको छ । खाद्य स्वच्छताको प्रश्न हाम्रो देशमा मात्र होइन, राष्ट्र संघका सदस्य मुलुकमा पनि टड्कारो रुपमा छ । नेपालले भने खाद्य स्वच्छतासम्वन्धी अभियान तथा कार्यक्रम बढी गरिरहेको छ । केही सुधार समेत देखिन थालेका छन्,’ विभागका महानिर्देशक कर्णले बताए ।

आम उपभोक्ताको स्वास्थ्य र खाद्य पदार्थको गुणस्तरको ख्याल राख्दै विभागसहित अन्य सरकारी निकायबाट पनि १२ महिना नै खाद्य स्वच्छता अभियान र अनुगमन हुनुपर्ने उनको भनाइ छ ।