असार १५ का दिन ८० लाख लिटर दही खपत हुने अपेक्षा

२०८२ असार १४ गते प्रकाशित

नेपाल डेरी एसोसिएसनले धान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दही चिउरा कार्यक्रम आयोजना गरेको छ । असार १५ को सांस्कृतिक र कृषिपरक महत्व उजागर गर्ने उद्देश्यले आयोजित ‘दही चिउरा खाने विशेष कार्यक्रम २०८२’ मा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव, डेरी विज्ञ, उद्यमी व्यवसायीलगायतको सहभागिता थियो । सो अवसरमा एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहालले दही चिउरा असार १५ को परम्परागत आहारमात्र नभई किसान, कृषक र डेरी व्यवसायीप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि भएको उल्लेख गर्दै कार्यक्रमले दुग्ध व्यवसायको मूल्य र महत्व उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दही चिउरा हाम्रो मौलिक परम्पराको अभिन्न अंग भएकाले त्यसको संरक्षण र प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । कृषिमन्त्री अधिकारीले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण तथा दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने आवश्यकता औंल्याउँदै दही चिउरालगायतका सांस्कृतिक कार्यक्रमहरूले कृषि र डेरी क्षेत्रमा गरिने योगदानप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने बताउनुभयो । किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमा नहुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उहाँले डेरी व्यवसायीलाई किसानको पैसा बेलैमा चुक्ता गर्न आग्रहसमेत गर्नुभयो । सोही अवसरमा नवप्रभात डेरीद्वारा उत्पादित ‘राजा दही’ ब्राण्ड पनि सार्वजनिक गरिएको थियो ।

असार १५ गते दही चिउराका लागि देशभर झण्डै ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ, जसबाट करिब एक अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने नेपाल डेरी एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार दही चिउराजस्ता परम्परागत आहार केवल सांस्कृतिक पहिचान नभई पोषणीय दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छन् ।

दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ तथा लाभदायक ब्याक्टेरिया ९प्रोबायोटिक्स० पाइने भएकाले पाचन प्रणाली सुदृढ बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, छाला स्वस्थ राख्ने, हड्डी तथा दाँत बलियो बनाउने र मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउने राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्रप्रसाद यादवले बताउनुभएको छ । नेपाली संस्कृतिअनुसार दही शुभकार्यमा सगुनका रूपमा प्रयोग गरिन्छ ।