‘गाउँमै कमाइ हुन्छ’ भन्दै कमलले रोजे खेती, वार्षिक लाखौँ आम्दानी

२०८२ असार २९ गते प्रकाशित

पाँचथर, २९ असार । जब धेरै युवा वैदेशिक रोजगारीतर्फ आकर्षित छन्, पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिनाले भने गाउँमै बसेर गोलभेँडा खेतीबाट आत्मनिर्भर जीवन सुरु गरेका छन् । २७ वर्षीय तिम्सिना अहिले करिब ४० रोपनी जमिनमा गोलभेँडा, खुर्सानी र अन्य नगदेबाली उत्पादन गर्दै वार्षिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् ।
तिम्सिनाको परिवारले रमिते र हिलिहाङ–१ फेदापामा खेती गर्दै आएका छन् । उनीहरूको केही जमिन आफ्नै हो भने केही बन्दकीमा लिएको छ । एक टिपाइमै २० देखि ६० क्यारेटसम्म गोलभेँडा उत्पादन हुने गर्छ, एक क्यारेटमा औसत २३ किलो गोलभेँडा हुन्छ । एउटा बिरुवाबाट ३–७ पटकसम्म टिपाइ हुने उनले बताए ।

गोलभेँडा अहिले प्रतिकिलो रु २० मा व्यवसायीले खरिद गर्दैछन् । कहिले दुई रुपैयाँ ५० पैसासम्म झरेको मूल्यले घाटा बेहोरे पनि, कहिले ७० रुपैयाँ प्रतिकिलोसमेत पुगेको अनुभव कमलसँग छ । “रु ३०भन्दा बढी मूल्य आउँदा राम्रै आम्दानी हुन्छ”, उनले भने ।
गोलभेँडा र खुर्सानीको बिरुवा पनि उनीहरूले आफैं उत्पादन गर्छन् , यस वर्ष ६ हजार गोलभेँडा र ८ हजार खुर्सानी बिरुवा रोपेका छन् । खेतीसँगै पशुपालन पनि गर्दै आएका तिम्सिना परिवार पाँच जनाले मिलेर सबै काम आफैं गर्छन् ।
कमलले विगतमा विदेश जाने सोच बनाएका थिए, तर बढ्दो खर्च र गाउँमै पनि केही आम्दानी हुने देखेपछि त्यहीँ टिके । “गाउँमै परिवारसँग बसेर पनि आम्दानी हुन्छ भने किन विदेश जानेरु”, उनले मुस्कुराउँदै भने ।

कमलकी आमा टीकादेवी तिम्सिना पनि छोराले विदेश नगई गाउँमै रहेर केही गरिरहेकोमा सन्तुष्ट छिन् । “बचत अलिक गाह्रो छ, तर घरमै भए पनि छोरो हाम्रो साथमा छ, खेतीपाती गरिरहेको छ”, उनले भनिन् ।

हाल स्थानीय किसानहरू मूल्य नपाउँदा केही निराश देखिन्छन् । गत वर्ष रु १३० किलोको खुर्सानी अहिले रु ३० प्रतिकिलोमा बिक्री भइरहेको छ । एक दिनमा ४० किलो खुर्सानी टिप्ने कामदारलाई दैनिक रु पाँच सय ज्याला दिनुपर्ने हुँदा लागत उठाउन समेत किसानलाई मुस्किल भइरहेको कमलको भनाइ छ ।

तैपनि तिम्सिना परिवारको अडान, मेहनत र गाउँमै केही गर्न सकिन्छ भन्ने सोचले उनीहरूलाई आत्मनिर्भर बनाएको छ ।रासस