सिरहा, ५ भदौ । खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानलाई सहयोग पुर्याउन गोलबजार नगरपालिका–२ निपनियामा डिप बोरिङ निर्माण गरिएको छ । रु ७० लाखको लागतमा निर्माण गरिएको डिप बोरिङसँगै १० हजार लिटर क्षमताको पानी ट्याङ्की पनि तयार गरिएको छ ।
कमला सिँचाइ कार्यालयका अनुसार यो बोरिङमार्फत करिब ७० बिघा जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने छ । बुधबारदेखि सेवा प्रारम्भ भएको उक्त डिप बोरिङको उद्घाटन पूर्वमन्त्री लीलानाथ श्रेष्ठले गरे ।
सो अवसरमा गोलबजार नगर प्रमुख श्यामकुमार श्रेष्ठले नगर क्षेत्रमा हालसम्म छवटा डिप बोरिङ निर्माण भएको जानकारी दिए । उनले खडेरीले प्रभावित किसानलाई राहत दिने गरी नगरपालिकाले सिँचाइ विस्तारलाई प्राथमिकतामा राखेको बताए ।रासस