बागलुङमा ७०५ पशुको बिमा, किसानलाई २४ लाखभन्दा बढी सुरक्षण कोष

२०८२ भाद्र २१ गते प्रकाशित

गलकोट (बागलुङ), २० भदौ । बागलुङका दुग्ध उत्पादक किसानले ७०५ वटा पशुको बिमा गराएका छन् । जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्य किसानले बिमा गरेका हुन् ।
सङ्घका अध्यक्ष दीपक गौतमका अनुसार गत आर्थिक वर्षमा किसानले प्रिमियमबापत रु ४ लाख ८४ हजार ५०० बुझाएका थिए भने राज्यले अनुदान स्वरूप रु १९ लाख ३८ हजार प्रदान गरेको थियो । यसरी जम्मा रु २४ लाख २२ हजार ५०० पशुधन सुरक्षण उपसमितिमा संकलन भएको उनले जानकारी दिए । चालु आवमा भने पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार संकलन भइसकेको छ ।
सङ्घले विगत २४ वर्षदेखि १५ दुग्ध सङ्कलन सहकारीमार्फत एक हजार ५०० भन्दा बढी किसानलाई संलग्न गराउँदै आएको छ । ती किसानले दैनिक करिब तीन हजार ५०० लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारमा पुर्‍याउने गरेका छन् । रासस