म्याग्दी, २२ भदौ । म्याग्दी जिल्लाबाट गत आर्थिक वर्षमा करिब एक अर्ब रुपैयाँ बराबरको आलु र सुन्तला बिक्री भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१र८२ मा मात्र ६० करोड रुपैयाँ बराबरको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।
केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाका अनुसार एक हजार आठ सय २० हेक्टरमा उत्पादन भएको ३५ हजार ४९० मेट्रिकटन आलु न्यूनतम प्रतिकिलो ३५ रुपैयाँमा बिक्री हुँदा ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, चार सय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको चार हजार ७८१ मेट्रिकटन सुन्तला प्रतिकिलो ८० रुपैयाँका दरले ३३ करोड ४६ लाख रुपैयाँमा बिक्री भएको उनले जानकारी दिए ।
म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा आपूर्ति हुँदै आएको छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम र रोग–कीराको समस्या नदेखिएकाले गत वर्ष आलु र सुन्तलाको उत्पादन बढेको केन्द्रले जनाएको छ । अघिल्लो आवमा ९२०८०र८१० ३१ हजार ४५० मेट्रिकटन आलु र ३,६०० मेट्रिकटन सुन्तलामात्र उत्पादन भएको थियो ।
जिल्लाको अन्नपूर्ण, रघुगङ्गा र बेनी नगरपालिका लगायतका क्षेत्रमा आलुखेती हुने गरेको छ भने नारच्याङ, दाना, तातोपानी, ओखरबोट, ताकमलगायतका बस्तीतिर दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् । यातायातको पहुँच पुगेपछि गाउँमा उत्पादन भएको फलफूल र तरकारीले सहजै बजार पाउन थालेका छन् ।
कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तला खेतीलाई प्रवर्द्धन गर्दै आएका छन् । गत वर्ष ४७ लाख रुपैयाँभन्दा बढी सहयोगमार्फत १६४ किसान परिवारलाई तीन सय ७० रोपनी सुन्तला बगैँचा सुदृढीकरण र ४० रोपनीमा विस्तार गरिएको कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले बताए ।
त्यस्तै, आलु कार्यक्रममार्फत बिउ, सिँचाइ, यान्त्रीकरण, प्याकेजिङ र ढुवानीका लागि ८७ लाख ६४ हजार रुपैयाँ अनुदान प्रदान गरिएको थियो । यस वर्ष सुन्तला बगैँचा विस्तारका लागि ६ लाख र सुदृढीकरणका लागि १९ लाख ८० हजार बजेट छुट्याइएको केन्द्रले जनाएको छ । साथै, आलु जोन कार्यक्रमले अन्नपूर्ण, रघुगङ्गा र बेनी नगरपालिका क्षेत्रमा सहजीकरण गर्दै आएको छ ।रासस
