भोजपुर– भोजपुरमा उत्पादन हुने अर्ग्यानिक आलु पछिल्ला वर्षमा किसानको भरपर्दो आम्दानीको स्रोत बनेको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्रै प्रयोग हुने आलु सडक पहुँच विस्तारसँगै बजारसम्म पुग्न थालेपछि किसानलाई घरमै बिक्री गर्ने सुविधा भएको छ ।
व्यापारीहरू गाडी लिएरै गाउँघर पुग्ने गरेका छन् । टेम्केमैयुङ–५ मझौलेका कृषक शिवकुमार विष्टका अनुसार विगतमा आलुसँग धान साट्नुपर्ने अवस्था थियो । उनले भने, “सडक पुगेपछि अहिले भने घरमै आलु बिक्री हुन्छ, राम्रो आम्दानी भएको छ ।”
यस वर्ष आलु प्रतिकेजी ४० देखि ४५ रुपैयाँसम्ममा बिक्री भइरहेको किसानको भनाइ छ । लेकाली भेगमा उत्पादन हुने अर्ग्यानिक आलुको बजारमा माग बढिरहेको कृषक रामबहादुर विष्टले बताए । “गाउँका सबैले आलुखेती गर्छन् । हाम्रो क्षेत्रको आलु अर्ग्यानिक भएकाले बजारमा माग बढेको छ,” उनले भने ।रासस
