वन्यजन्तु क्षतिबाट किसान पीडित, बँदेल राहत सूचीमा नपरेपछि निराशा

२०८२ भाद्र ३१ गते प्रकाशित

फुङ्लिङ– सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान बाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायतका वन्यजन्तुले मकै, आलु, सिमी, पिँडालु लगायत अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहनत संकटमा परेको हो ।

स्थानीय शेरबहादुर बानियाँका अनुसार, करिब २५–३० घरपरिवार प्रतिवर्ष वन्यजन्तुको आक्रमणबाट पीडित हुने गरेका छन् । “पहिले भालुले दुःख दिन्थ्यो, अहिले बँदेलले आक्रमण बढाएको छ । एकै रातमा दुईदेखि चार मुरीसम्म अन्नबाली नष्ट हुन्छ,” उनले बताए ।

निरन्तर क्षतिका कारण केही किसानले बासाइँ सरिसकेका छन् भने केहीले बारी बाँझै छाडेर अन्य पेसा रोजेका छन् । तर अहिलेसम्म वन्यजन्तु नियन्त्रण वा क्षति न्यूनीकरणका लागि स्थानीय तह वा सरोकारवाला निकायले ठोस कदम चाल्न सकेका छैनन् ।
गाउँपालिका उपाध्यक्ष विष्णुकुमारी (बन्दना) कडरियाले अहिलेसम्म किसानबाट औपचारिक निवेदन नआएको जनाउँदै निवेदन आएपछि कार्यपालिकाले केही सहुलियत दिन सक्ने बताइन् । डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पारवानका अनुसार २०८० सालको ‘वन्यजन्तु क्षतिको राहत वितरण निर्देशिका’मा १६ प्रजातिका जनावरबाट हुने क्षतिमा मात्र राहतको व्यवस्था छ। तर बँदेल सो सूचीमा नपर्ने भएकाले किसानले क्षतिपूर्ति पाउन नसक्ने बताए ।