सिंहदरबार पुनर्निर्माण र घाइते उपचारका लागि अकबरे खुर्सानी बेचेर किसानको सहयोग

२०८२ भाद्र ३१ गते प्रकाशित

अर्घाखाँची–अर्घाखाँचीका एक साधारण किसानले सिंहदरबार पुनर्निर्माण तथा घाइतेको उपचारका लागि अकबरे खुर्सानी बेचेर संकलन गरेको रकम सहयोग गरेका छन्। जिल्लाको ग्रामिण भेगमा तरकारी खेती गर्दै आएका उनले आफ्नो मेहनतको उपजबाट जम्मा गरेको १ लाख १ सय रुपैयाँ सरकारलाई हस्तान्तरण गरेका हुन्।

कृषि पेशामै आश्रित किसानले विगत केही वर्षदेखि अकबरे खुर्सानीलाई आयको प्रमुख स्रोत बनाउँदै आएका थिए। स्थानीय बजारदेखि काठमाडौँसम्म बिक्री गरेर संकलित रकम उनले व्यक्तिगत लाभभन्दा पर राख्दै राष्ट्रिय संकटमा उपयोग हुने उद्देश्यले उपलब्ध गराएको बताए।

‘देशले कठिन परिस्थिति सामना गरिरहेको बेला हामीजस्ता किसानले पनि सक्दो योगदान दिनुपर्छ भन्ने भावना भयो,’ किसानले भने, ‘सिंहदरबारको पुनर्निर्माणसँगै घाइते दाजुभाइको उपचारमा मेरो सानो रकम उपयोगी होस् भन्ने चाहना छ।’

उनको यो योगदानले गाउँघरका किसानसमेत राष्ट्रिय जिम्मेवारीमा सहभागी हुने चेतना फैलिएको स्थानीयवासीले बताएका छन्। सिंहदरबार पुनर्निर्माण कोषका लागि रकम बुझाउने क्रममा सरकारी अधिकारीहरुले किसानको प्रयासलाई उच्च सम्मान गर्दै यसलाई प्रेरणादायी उदाहरणको रूपमा लिएका छन्।

अर्घाखाँची जिल्लामा विगत केही वर्षयता नगदेबालीको रूपमा अकबरे खुर्सानी खेती विस्तार भइरहेको छ। किसानहरुले उत्पादनलाई आय–आर्जनसँगै सामाजिक उत्तरदायित्वमा पनि उपयोग गर्न थालेको यो घटनाले देखाएको छ।