तिहार लक्षित सयपत्री खेतीले महिलालाई आत्मनिर्भरता

२०८२ आश्विन १७ गते प्रकाशित

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलखेतीलाई निरन्तर विस्तार गर्दै लगेका छन् । विगत तीन वर्षदेखि सुरु भएको खेती यस वर्ष बढेर ५० रोपनीमा पुगेको हो ।

यान्चोकटार महिला लघु उद्यमी समूहका अध्यक्ष सुन्तली गुरुङका अनुसार पहिलो वर्ष २२ रोपनीमा गरिएको खेती दोस्रो वर्ष ४० रोपनीमा विस्तार भएको थियो । उनले बजारको सहजता र गाउँपालिकाको सहकार्यका कारण महिलाहरू फूलखेतीतर्फ आकर्षित भएको बताइन् । तिहार नजिकिँदै गर्दा उत्पादन संकलन सुरु भइसकेको उनको भनाइ छ ।

समूहमा आबद्ध ७० महिला अहिले सयपत्री खेतीमा सक्रिय छन् । गाउँपालिकाले खेतीसँगै फूल टिप्ने र माला बनाउने सीपसमेत महिलालाई प्रदान गरेको कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले फूलखेती अभियानले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताए ।