भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे

२०८२ कार्तिक १ गते प्रकाशित

काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालका अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः ३९ बजे रहनेछ ।

समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तलाई शुभ मानिएको छ । “राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्छ, तर सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन,” भट्टराईले बताए ।

समितिका अनुसार यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ । सो दिनदेखि यमदीप दान सुरु हुने र धन त्रयोदशी तथा धनतेरस पर्व पनि यही दिन परेको उल्लेख गरिएको छ ।

कात्तिक २ गते आइतबार काग तिहार तथा धन्वन्तरी जयन्ती, कात्तिक ३ गते सोमबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा पर्व मनाइनेछ । समितिले कात्तिक ३ गते दिउँसो २स्५२ बजेसम्म कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि रहने भएकाले औँसीमा लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचनअनुसार निर्णय गरेको जनाएको छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार मनाइनेछ। ‘कृत्यवाटिका’ ग्रन्थका अनुसार आत्म पूजा शुक्ल प्रतिपदाको साँझमा गर्नुपर्ने उल्लेख छ, जुन परम्परागत रूपमा नेवार समुदायले मनाउने गर्छन् । सोही दिन नेपाल संवत् ११४६ नयाँ वर्षका रूपमा पनि मनाइनेछ ।