पर्वत-उमेरले ७३ वर्ष नाघिसकेका भए पनि पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको जोशजाँगर भने युवा किसानभन्दा कम छैन । बिहानदेखि बेलुकीसम्म मौरी र घारको हेरचाहमै व्यस्त रहने उनी जिल्लाभर ‘मौरीबाजे’का नामले परिचित छन् ।
पच्चिस वर्षअघि व्यावसायिक मौरीपालन सुरु गरेका तिमिल्सिना पहिले जिल्लाका प्रमुख सुन्तला उत्पादक किसान थिए । तर सुन्तलाका बोटहरू मर्दै गएपछि उनले मौरीपालनलाई रोजाइमा ल्याए । सुरुमा थोरै घार राखेर सुरु गरेको व्यवसाय अहिले ३५ वटा मौरीघार र वार्षिक दुई सय किलो मह उत्पादनमा पुगेको छ ।
गुणस्तरीय मह उत्पादनका कारण उनलाई बजार खोज्दै हिंड्नुपर्दैन । गाउँ, पालिका, र जिल्ला कार्यालयका कर्मचारीदेखि काठमाडौं, बुटवल र चितवनसम्मका ग्राहक उनीकै घरमा आइपुग्छन् । महको मूल्य प्रतिकिलो रु १,५०० र मौरीसहितको घार प्रति सेट रु १० हजार मा बिक्री गर्छन् ।
गत वर्ष बर्खामा आएको पहिरो र अरिङ्गालको आक्रमणले केही घार नष्ट गरे पनि तिमिल्सिना हिम्मत हारेका छैनन् । “मौरीपालनले मेरो बुढ्यौली सजिलो बनाएको छ,” उनी मुस्कुराउँदै भन्छन् । उनी एक वर्षमा करिब १५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।
कृषक उमाकान्त शर्माका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, कुर्घा, भङ्गरा, पाङराङलगायत स्थानमा सयौँ मौरीघार र मह उत्पादन भइरहेका छन् । लगातारको आम्दानी र न्यून लगानीका कारण मौरीपालन किसानका लागि आकर्षक वैकल्पिक व्यवसाय बन्दै गएको छ ।
