दोधारा चाँदनी– भारतमा मजदुरी गरेर जीविका चलाउँदै आएका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । विदेशमा धेरै दुःख–कष्ट व्यहोरेका राना स्वदेश फर्किएर केही गरौँ भन्ने संकल्पसँगै आजका दिनमा डेरी व्यवसायीका रूपमा स्थापित भएका छन् ।
रानाले विसं २०६८ सालमा दुई लिटर दूध सङ्कलन गरेर साइकलमै बिक्री गर्ने साधारण प्रयासबाट आफ्नो यात्रा सुरू गरेका थिए । निरन्तर मेहनत र अनुशासनका कारण अहिले उनी दैनिक १,५०० लिटर दूध सङ्कलन गरी झलारी बजार, अत्तरिया र कैलालीसम्म आपूर्ति गर्छन् । “भारतमा मजदुरी गर्दा धेरै दुःख भोग्नुपर्यो,” रानाले आफ्नो संघर्ष सम्झिँदै भने, “गाउँ फर्किएपछि साइकलमै दूध बेच्न थालेँ। त्यही कमाइ बचत गर्दै अहिले आफ्नै डेरी सञ्चालन गर्न सकेको छु ।”
सुरुआतमा गाउँ–गाउँ हिँडेर दूध सङ्कलन गर्ने राना आज डेरी व्यवसायका मालिक बन्न पुगेका छन् । दूध बोक्न र वितरण गर्न उनले ६ जना कामदार राखेका छन्, जसलाई मासिक रु २० हजारदेखि २६ हजार तलब दिने गर्छन् ।
कडा मेहनत र लगनको परिणामस्वरूप रानाले डेरी व्यवसायबाट करिब रु ९० लाख बराबरको सम्पत्ति जोड्न सफल भएका छन् । खर्च कटाएर वार्षिक रु १३ लाखसम्म आम्दानी हुने रानाले बताए। अहिले उनका छोरा पनि यही व्यवसायमा संलग्न छन् ।
देशमा रोजगारीको अभाव भन्दै धेरै युवा विदेशिने गरेको अवस्थामा रानाजस्ता युवाले स्वदेशमै परिश्रम र सीप प्रयोग गरेर सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । गाउँ फर्किएर डेरी व्यवसायलाई रोजगारी र आयको स्रोत बनाएका राना अहिले समाजमा उदाहरणीय उद्यमीका रूपमा परिचित छन् ।
