दमौली- तनहुँ जिल्लामा यस वर्ष सुन्तला उत्पादन र बिक्री दुवैमा उल्लेखनीय वृद्धि भएको छ । जिल्लाका किसानहरूले कुल रु ४५ करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेका छन्, जुन गत वर्षको रु ४२ करोड ५० लाखभन्दा बढी हो ।
म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष मात्रै रु ९० लाखको सुन्तला बिक्री गरेका छन् । उनले विसं २०५२ देखि व्यावसायिक सुन्तलाखेती सुरु गरेका हुन् । बगानमै व्यापारी आउने भएकाले बजारको समस्या नरहेको उनको भनाइ छ ।
त्यस्तै, व्यास नगरपालिका–१३ बेनीकोटका दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका छन्, जुन अघिल्लो वर्षभन्दा रु तीन लाख बढी हो । विदेशबाट फर्किएर खेतीमा लागेका अर्का कृषक गिरबहादुरले पनि यस वर्ष रु तीन लाख ५० हजारको सुन्तला बिक्री गरेका छन्।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारीका अनुसार यस वर्ष ११ हजार ८२१ दशमलव ७ मेट्रिकटन सुन्तला उत्पादन भएको छ भने ५ हजार ८२१ दशमलव ९ मेट्रिकटन बिक्री भएको छ । जिल्लामा १ हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकोमध्ये ९७७ हेक्टरमा उत्पादन भएको जनाइएको छ ।
आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका लगायतका क्षेत्र सुन्तला उत्पादनका प्रमुख पकेट क्षेत्रका रूपमा रहेका छन् ।
तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँ पठाइने गरिएको छ भने पोखरा र नारायणगढमा पनि बिक्री हुने गरेको छ । व्यापारीहरू बगैँचासम्मै पुगेर खरिद गर्ने प्रचलनले किसानलाई सहजता मिलेको छ ।
सुन्तलाखेतीप्रति किसानको बढ्दो आकर्षण र बजार पहुँच सहज बन्दै जाँदा आगामी वर्षमा उत्पादन अझै बढ्ने अपेक्षा गरिएको छ ।
