काठमाडौं- देशको अर्थतन्त्रमा एकचौथाइ हिस्सा ओगट्ने कृषिक्षेत्र गम्भीर संकटमा परेको भन्दै राष्ट्रिय किसान सञ्जालले सरकारले किसानका समस्या समाधानमा ठोस कदम चाल्नुपर्ने माग गरेको छ ।
डा. प्रेम दंगालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियार र भूमि व्यवस्था तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई भेटी २१ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
सञ्जालले भूमिहीन र सुकुम्बासी जनताको हक सुनिश्चित गर्न भूमि समस्या समाधान आयोग पुनःस्थापना, वर्षा र खडेरीका कारण नष्ट भएका बालीको क्षतिपूर्ति, र धान खरिदमा तोकिएको समर्थन मूल्य कार्यान्वयन गर्न माग गरेको छ ।
त्यसैगरी दुग्ध र उखु किसानका बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, सुपारी खेतीका समस्या समाधानका लागि अनुसन्धान केन्द्र स्थापना गर्न, र देशमै मल कारखाना स्थापना गरी आत्मनिर्भरता हासिल गर्न पनि सञ्जालले सरकारको ध्यानाकर्षण गराएको छ ।
सञ्जालले किसान सूचिकरण अभियान, किसान परिचयपत्र वितरण, र कृषि नीति निर्माणमा किसान संगठनको सहभागिता सुनिश्चित गर्नुपर्ने पनि जनाएको छ। डा. दंगालले भने, “कृषक देशको मेरुदण्ड हुन् । उनीहरूको हक र हितको रक्षामा राज्य गम्भीर बन्नुपर्ने बेला आएको छ ।”
